रामेछापमा पाँच बर्षिय बालकलाई शौचालयमा थुनेर अप्राकृतिक मैथुन गर्ने खड्का पक्राउ
१५ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोकुलगंगा गाउँपालिका–५ सालबोटेका १९ बर्षिय दिपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । पीडित बालकलाई यही भदौ ५ गते दिउँसो ललाई फकाई आफ्नो घरको शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरेर खड्का फरार रहेका थिए । अप्राकृतिक मैथुन गरेपछि बालक चिच्याउदै घर पुगेका थिए ।
घरमा पीडित बालकले आफूलाई दिपेश खड्काले जबरजस्ती मैथुन गरेको जानकारी गराएका थिए । पीडित बालक रुने चित्याउने गरेपछि उपचारको लागि अस्पताल लैजाने क्रममा घटना बाहिरिएको थियो । अस्पतालका डाक्टरले सोधखोज गर्ने क्रममा बालकमाथि भएको घटनाको बारेमा प्रहरीलाई जानकारी गराइएको थियो ।
त्यसपछि पीडित परिवारले प्रहरी समक्ष दिएको उजुरीको आधारमा सोमबार प्रहरीले खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । श्रेष्ठका अनुसार पक्राउ परेका खड्कालाई जिल्ला अदालत रामेछापबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।
मुलुकी संहिता २०७४ को दफा २२६ को उप दफा ३ मा बालबालिका विरुद्ध अप्राकृतिक मैथुन कसुर गरेमा उक्त व्यक्तिलाई दफा २१९ अनुसार जबरजस्ती करणी सरह सजाय हुने उल्लेख गरिएको छ । रामेछापमा जबरजस्ती करणीका घटना बाहिर आउने गरेपनि पाँच बर्षिय बालकमाथि अप्राकृतिक रुपमा मैथुन भएको पहिलो घटना भएको प्रहरीले बताएको छ ।