चार कारणले फेरि रामेछापकाे सभापतिमा उम्मेदवारी दिन लागेको हुँः लवश्री न्यौपाने



१८ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले पुनः एक सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफूले अगाडि सारेको अभियानलाई कार्यान्वयन गर्न एक कार्यकाल जिल्ला सभापतिमा उम्मेदवारी दिन लागेका हुन् । सभापति न्यौपानले रामेछाप न्युजसँग भने,‘मेरो कार्यकालमा रामेछाप जिल्लामा पार्टी कार्यालय भवन निर्माणको काम अगाडि बढाउन सके, निर्माणको अन्तिम चरणमा पुगेको छ, मेरो नेतृत्वमा सुरु भएको पार्टी कार्यालयलाई पूर्णता दिन चाहन्छु ।’

उनले आगामी स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा रामेछापमा पार्टीलाई विजयी गराउने कामको लागि आफूले सभापतिमा दोहोर्याउन लागेको बताउदै संगठन विस्तारको कामलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन पनि सभापति भएर काम गर्न चाहेको बताए । उनले भने,‘पार्टीको विधानमै दुई कार्यकाल सभापति बन्न पाउने प्रावधान छ, मैले थालेका केही काम अझै अधुरो नै छ, ती काम सम्पन्न गर्न र रामेछापमा पार्टीलाई एक नम्बरको बनाउन पनि मेरो नेतृत्वको खाँचो छ ।’

एक कार्यकाल सभापति भएपछि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तपाई किन चाहनुहुन्न भन्ने रामेछाप न्युजको जिज्ञासामा न्यौपानेले रामेछापका नेता कार्यकर्ताको चाहना र भावना अनुसार नै सभापतिको उम्मेदवारी दिन लागेको बताए । कार्यकर्तास्तरबाट दबाब आएपछि मैले उम्मेदवारी दिन लागेको हुँ, मेरो कार्यकालमा पार्टीलाई बलियो बनाउने जग तयार भएको छ, अब संगठनलाई बलियो बनाउने अभियानमा लाग्छु,उनले भने ।

प्रतिक्रिया दिनुहोस्