रामेछापमा कांग्रेसको जिल्ला अधिवेशन हुने/नहुने टुंगो आज लाग्ने
८ असोज, रामेछाप ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकले हिमाली जिल्लाहरुमा दशै अगाडि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेपनि रामेछाप जिल्लामा भने जिल्ला अधिवेशन हुने अझै टुंगो लागेको छैन् । सुनापति गाउँपालिका–२ दिमीपोखरीमा वडा अधिवेशन सम्पन्न भएपछि सुरु भएको विवाद जिल्ला हुँदै केन्द्रमा पुगेको छ । जसको कारण जिल्ला अधिवेशन गर्न कठिनाइ भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन अधिृकतले दिमीपोखरीको विवाद टुंगो नलगाउदासम्म जिल्ला अधिवेशन हुने नहुने अझै आशंका रहेको छ । रामेछापको ६४ वटा वडा मध्ये ६३ वटा वडामा वडाअधिवेशन सम्पन्न भइसकेको छ । दिमीपोखरी वडामा पनि निर्वाचन प्रक्रिया मार्फत वडा अधिवेशन सम्पन्न भएर वडा सभापति, पदाधिकारी र क्षेत्रिय प्रतिनिधिहरुले प्रमाणपत्र पाइसकेका छन् ।
तर असन्तुष्ट समुहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला निर्वाचन अधिकृत समक्ष उजुरी दिएपछि विवाद सुरु भएको थियो । वडामा सहमति हुन नसकेपछि निर्वाचन मार्फत २०९ मत प्राप्त गरेर भिम बहादुर थापामगर वडा सभापतिमा निर्वाचित भएका थिए । ३ सय ५१ जना क्रियाशिल सदस्य रहेको दिमीपोखरीमा वडा सभापतिका प्रत्यासी यान बहादुर श्रेष्ठले चुनाव हार्ने निश्चित भएपछि निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला निर्वाचन अधिकृत समक्ष उजुरी दिएका थिए ।
विवाद आएपछि जिल्ला निर्वाचन अधिकृत विष्णु लइँटेलले वर्तमान जिल्ला सभापति लवश्री न्यौपाने, पूर्व जिल्ला सभापति रामचन्द्र खडका र नवराज घिमिरे रहेको तीन सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले पनि विवाद समाधान गर्न नसकेपछि दिमीपोखरीको विवाद अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेको छ । दिमीपोखरीको विवादको विषयमा केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयले निर्णय नगर्दासम्म रामेछापमा गाउँ÷नगर र जिल्ला अधिवेशनको कार्यतालिका बनाउन नसकिएको जिल्ला निर्वाचन अधिृकत लुइँटेलले रामेछाप न्युजलाई बताए । उनले केन्द्रले निर्णय गरेको एक घण्टाभित्र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गछौं ।
निर्वाचन मार्फत दिपीपोखरीको नेतृत्व चयन भएपनि वर्तमान सभापति लवश्री न्यौपानी र जिल्ला सभापतिका प्रत्यासी पूर्ण बहादुर तामाङ (कान्छाराम)ले भने असन्तुष्ट समुहलाई समर्थन गर्दै आएका छन् । दिमीपोखरीबाट ३७ जना क्षेत्रिय प्रतिनिधि चयन भएका छन् । अब पुनः चुनाव भएको अवस्थामा आफ्नो पक्षका व्यक्तिलाई क्षेत्रिय प्रतिनिधि बनाउने स्वार्थको कारण सम्पन्न भएको चुनावलाई पुनः विवादित बनाउदै कांग्रेसका नेताहरुले नै विवाद केन्द्रसम्म पुर्याएका छन् ।