रामेछापमा नेकपा एकीकृत समाजवादीले आज जिल्ला कमिटीको घोषणा गर्दै



९ असोज, रामेछाप ।
नेकपा एकीकृत समाजवादीले रामेछापमा आज जिल्ला कमिटीको घोषणा गर्ने भएको छ । यसअघि माधव नेपाल समुहमा रहेका शान्ति पौडेलले एमालेमै रहने निर्णय गरेपछि नेकपा (एस) रामेछापको अध्यक्ष कसलाई बनाउने भन्ने गृहकार्य सुरु भएको छ । नेकपा (एस)का नेता देवशकंर पौडेलले अध्यक्षसहित पदाधिकारी र जिल्ला कमिटीमा समावेश गर्ने व्यक्तिहरुको नामावलीको विषयमा नेताहरुसँग छलफल गरेका छन् । पार्टी विभाजन अघि नेपाल समुहमा रहेका अधिकांश नेताहरु एमालेमै रहने निर्णयमा पुग्दा नेकपा (एस)तर्फ ठूलो आकर्षण आउन सकेको छैन् । रामेछापमा एमाले परित्याग गरेर नेकपा (एस) रोज्ने जनप्रतिनिधिहरुको संख्या पनि निकै कम छ ।

एमालेबाट निर्वाचित मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत, गोकुलगंगा गाउँपालिका–५ का वडाअध्यक्ष बलराम खड्का र तीन जना कार्यपालिकाका सदस्य बाहेक अन्य नेताहरुले एमाले छोडेका छैनन् । अन्तिम अवस्थामा आएर नेपाल समुहमा रहेका अधिकांश नेताहरु एमालेमै रहदा एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एस) रामेछापमा नेतृत्व कसले गर्ला भन्ने चासोको विषय बन्न पुगेको छ । नेकपा (एस) रामेछापका एक नेताका अनुसार पार्टी अध्यक्षमा रमेश बस्नेतको काम अगाडि सारिएको छ ।

तर अन्तिम निर्णय भने भेला मार्फत हुनेछ । मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका नेकपा (एस) रामेछापका नेता रमेश बस्नेतले आफूले अध्यक्ष पदको माग नगरेको र पार्टीले जिम्मेवारी दिए लिएर काम गर्ने रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्