रामेछाप निवासी लोकगायक रामकुमार नेपालीले जिते ‘राष्ट्रिय काठे लोकदोहारी अवार्ड’
१६ असोज, काठमाडौं ।
रामेछाप निवासी लोक गायक रामकुमार नेपालीले ‘राष्ट्रिय काठे लोकदोहोरी अवार्ड’ जितेका छन् । हिजो राजधानी काठमाडौंको राष्ट्रिय नाँचघरमा आयोजित सुनाखरी मल्टिमिडिया फाउन्डेसनले आयोजित २०७८ सालभरिका काठे लोक दोहोरी गीतहरू मध्येबाट नेपाली पुरस्कृत भएका हुन् । रामेछाप मन्थली नगरपालिका निवासी नेपाली एक दशकदेखि लोकगायनमा सक्रिय छन् ।
डेढ वर्षअघि गायन रियालिटी शो ’लोकस्टार’मा गाएका लोकगीतको कारण नेपाली चर्चामा आएका थिए । रियालिटी शो अघि देखि नै उनी लोकगायत यात्रामा संलग्द रहदै आएका थिए । नेपाली लोकस्टारमा चौथो बन्न सफल भएका थिए ।
फाउण्डेसनले काठका गीतसंगीतको पहिचान र उत्थानको प्रयासस्वरूप २३ विधामा अवार्ड गरिएको बताएको छ । कार्यक्रममा वरिष्ठ कलाकार जयनन्द लामालाई ’लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । दशकका गायकगायिका सम्मानबाट भोजराज काफ्ले, गोकुल राउत, गीता देवी र पार्वती कार्की सम्मानित भएका थिए ।
अवार्ड जितेपछि लोकगायक नेपालीले आफ्नो यात्रामा थप चुनौती थपिएको बताए । उनले दर्शक स्रोताको मायाकै कारण आफू यो स्थानमा आइपुगेको बताए ।