अब बुद्ध एयरले रामेछापमा पनि उडान गर्ने
५ मंसिर, काठमाडौं ।
बुद्ध एयरले चार वटा अत्याधुनिक जहाज थप्ने गर्दै नयाँ गन्तव्यमा उडान भर्ने भएको छ । दुर्गमलाई सुगम र सहज बनाउन सन् २०२३ को सुरुवातदेखि अत्याधुनिक जहाज थप्ने तयारी गरिएको कम्पनीले बताएको छ ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्विनअटर विमान निर्माता कम्पनी वाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोब मोराच्रसँग ‘दुवई एयर सो’ मा भेटवार्ता गरेका छन्। सुरुमा पूर्वमा रामेछाप मन्थली, पश्चिमतर्फ पोखरा र सुदुरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर चार वटा नयाँ एयरक्राफ्टबाट उडान भर्ने योजना बनाइएको एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।
केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलले नेपाल एयरलाइन्सको सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।