एमालेको केन्द्रीय सदस्यमा रामेछापका पाँच नेताले उम्मेदवारी दिने



१० मंसिर, चितवन ।
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्र सम्पन्न भएसँगै बन्द सत्र प्रारम्भ भएको छ । बन्दसत्र अन्तर्गत अहिले केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको छ । सहमति जुटने सम्भावना कम भएकाले भोलीबाट निर्वाचनको प्रक्रिया अगाडि बढने भएको छ । इलेक्ट्रोनिक भोटिङबाट एमालेको १५ पदाधिकारी र २२५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन हुने निश्चितजस्तै भएपछि चितवनमा चुनावी महालो पनि तातिदै गएको छ । करिब २२ जना महाधिवेशन प्रतिनिधिबाट पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आकांक्षीको संख्या पनि बढदै गएको छ ।
पार्टीको केन्द्रीय सदस्यको लागि एमाले रामेछापका इन्चार्ज समेत रहेको केन्द्रीय सदस्य कैलाश ढुंगेल, माधव ढुंगेल, रत्न गौतम, प्रेम बहादुर तामाङ माया कार्कीसहितका नेताहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कैलाश ढुंगेल माधव ढुंगेल र रत्न गौतमले बागमती प्रदेशको भूगोल तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । प्रेम बहादुर तामाङले जनजातिबाट र माया कार्कीले महिला तर्फबाट उम्मेदवारीको घोषणा गरेका छन् । यसअघि सम्पन्न विधान राष्ट्रिय सम्मेलनले प्यानल बनाएर उम्मेदवारी दिन नपाउने प्रावधान लागू गरेको छ । यस पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनको लागि नेताहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रामेछापबाट महाधिवेशनमा २४ जना महाधिवेशन प्रतिनिधि सहभागी रहेका छन् । उम्मेदवारी दर्ता गर्नु अघिसम्म जिल्लाका नेताहरुबीच समझदारी कायम गराउनको लागि नेताहरु अहिले गृहकार्यमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्