प्रतिलिटर पाँच लाखमा रक्तचन्दनको तेल बेच्ने रामेछापका खत्री पक्राउ
१६ मंसिर, रामेछाप ।
प्रतिलिटर पाँच लाख रुपैयाँमा अवैध रुपमा रक्तचन्दनको तेल विक्री गर्ने रामेछापका एक जनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ पञ्चकुमार पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित रामेछाप उमाकुण्ड गाउँपालिका–४ का काठमाडौं बालाजु बस्दै आएको २७ बर्षिय राम बहादुर खत्री पक्राउ परेका हुन् ।
त्यसैगरी प्रहरीले खत्रीसँगै कास्की लेखनाथ महानगरपालिका–१० का गंगा बहादुर पुनलाई पनि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार उनीहरुको साथबाट ४४ लिटर सुगन्धित रक्तचन्दनको तेल पनि बरामत गरिएको छ ।
प्रहरीले प्रति लिटर ५ लाखका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटेको बिशेष प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित दुई जनालाई पक्राउ गरेको बताएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसारमा पठाइएको छ । उनीहरुले दिएको बयान अनुसार भारतबाट नेपालगंज हुदै नेपाल भित्र्याई चिनतर्फ तस्करी हुने गरेको खुल्न आएको छ ।