विवाहमा बाजा बजाउन जादा बेपत्ता भएका रामेछापका साने खोलामा मृत भेटिए



२१ मंसिर, रामेछाप ।
नौ दिन अघि विवाहमा बाजा बजाउन गएर घर फर्कने क्रममा वेपत्तक भएका रामेछापका राम बहादुर दमार्य ‘साने’ आज खोलामा मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १४ गतेबाट हराएका सानेको खोजतलास गर्ने क्रममा आज मृत अवस्थामा फेला परेका हुन् । लिखुतामाकोशी गाउँपालिका–३ बिजुलीकोटका ७१ बर्षीय साने मंसिर १४ गते बिजुलीकोटमा विवाहमा बाजा बजाउन गएर घरफर्किने क्रममा बेपत्ता भएका थिए ।

उनी हराएपछि परिवारले खोजतलास गर्नको लागि प्रहरीदेखि सर्वत्र खोजी गरेको थियो । तर खोजी गर्ने क्रममा आज बिजुलीकोटकै साविकको वडा नं ७ स्थित चोप्राङ खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले बताए । उनका अनुसार स्थानीयले खोला आसपासमा गन्ध आएपछि खोजतलास गर्ने क्रममा सानेको शव फेला परेको थियो । उनको शवलाई पोष्टमार्टको लागि अहिले सदरमुकाम मन्थली ल्याइदैछ । साने बिजुलीकोटको लेती खोला भन्ने स्थानबाट बेपत्ता भएको बताइएको छ । प्रहरीले पोष्टमार्टको रिपोर्ट अध्ययन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्