दोस्रो चरणको मतदान सकियो, अबको तीन घण्टामा परिणाम आउने



मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । आज दिउँसो साढे ३ बजेदेखि शुरु भएको भएको मतदान भर्खरै सम्पन्न भएको हो । निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापति पदको दोस्रो चरणको मतदानमा कुल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ५६२ ले मतदान गरेका छन् । मतपत्र एकै किसिमको मात्र रहेको मतगणना आचारसंहिता अनुसार अबको केही समयपछि मतगणना सुरु गरिने समितिले बताएको छ । समितिका अनुसार अबको तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक हुनेछ ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।
दोस्रो चरणको मतदानमा पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा देउवालाई समर्थन जनाएका थिए । जसको कारण सभापतिमा देउवाले नै बाजी मार्ने निश्चितजस्तै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्