ज्यान मारेर २८ बर्षदेखि फरार रामेछापका थापामगर डोकोभित्र लुकेको अवस्थामा पक्राउ



१३ पुस, रामेछाप ।
कर्तव्य ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रामेछापबाट २० बर्ष कैद सजाय सुनाइएका रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वराका ५५ बर्षिय होम बहादुर थापामगरलाई प्रहरीले २८ बर्षपछि पक्राउ गरेको छ । प्रहरीले थापामगरलाई उनकै घरभित्र डोकोमा लुकीरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले अदालतबाट कैद सजाय सुनाएपछि फरार रहेका थापामगरलाई विशेष सूचनाको आधारमा घरमा आएको मौका छापेर पक्राउ गरिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘प्रहरी घरमा पुग्दा थापामगरकी श्रीमतीले घरमा छैन भनेर ढाँटेकी थिइन, तर प्रहरीले खोजतलास गर्दा डोकोमा लुकेर बसेको अवस्थामा फेला पार्यो ।’


कर्तब्य ज्यान मुद्दामा रामेछाप जिल्ला अदालतबाट २०५० फागुन १६ गते फैसला भई थापामगरलाई २० बर्ष कैद सजाय तोकिएको थियो । त्यसपछि २८ बर्षदेखि फरार रहेका उनलार्य जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापामगरसहित ४ जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कुले मुटु नै छेड्ने गरि प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले बताएको छ । डिएसपी ढुंगानाका अनुसार अन्य दोषीहरु पक्राउ परि सजाय भुक्तान गरि सकेता पनि हत्याका योजनाकार भने अहिले मात्र पक्राउ परेका हुन् । पक्राउ परेका थापामगरलाई आज जिल्ला अदालत रामेछापमा पेश गरिने प्रहरीले बताएको ।

प्रतिक्रिया दिनुहोस्