एमाले रामेछापको पदाधिकारीमा १६ जनाले उम्मेदवारी दर्ता गराउदा महिला शुन्य



२४ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको नयाँ नेतृत्वको लागि चुनाव हुने भएको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिवार पाँच जना पदाधिकारीको लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउने सबै पुरुष मात्र हुँदा महिलाको सहभागीता शुन्य रहेको छ ।
एमालेको अध्यक्षको लागि प्रेम बहादुर तामाङ, आनन्द श्रेष्ठ र झम्क कडेलले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा तामाङ र श्रेष्ठकैबीचमा प्रतिस्पर्धा हुने भएको छ ।त्यसैगरी उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । एक जना उपाध्यक्षको लागि छ जनाको उम्मेदवारी दर्ता भएको हो । भुवन घिमिरे,  सुमन कुमार लामा, इन्द्र तामाङ, नारायण प्रसाद पौडेल, धु्रव कार्की र रमेश वाग्लेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच सचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा गोपाल श्रेष्ठ, पुरुषोत्तम कडरिया र दुर्गा श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपसचिवमा चार जनाको उम्मेदवारी परेको छ । चार जना मध्ये दुई जना उपसचिवमा चयन हुनेछन । उपसचिवको लागि प्रकाश कुमार कार्की, होतराज ढकाल, केशव प्रधान र चन्द्रबहादुर मानन्धरले उम्मेदवारी दिएका छन् ।
पदाधिकारीमा यसअघि पनि महिलाको सहभागीता शुन्य रहेको थियो । अबको नयाँ नेतृत्वमा पनि महिलाबाट एक जनाको पनि उम्मेदवारी नपरेसँगै पदाधिकारीमा महिलाको सहभागीता नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्