सत्ता गठबन्धनको बैठक जारी, चुनावको मिति टुंगो लाग्दै
१५ माघ, काठमाडौं ।
स्थानीय तहको निर्वाचनको मितिको विषयमा अन्योल सृजना भइरहेको बेला चुनावको मितिको विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक जारी रहेको छ । आज बिहान बसेको शीर्ष तहमा सहमति जुटन नसकेपछि अहिले पुनः बैठक बसेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा बैठकमा नेताहरूबीच सहमति जुटाएर आगामी वैशाख या जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने तयारी सहित छलफल भइरहेको बताइएको छ ।
सहमति जुटे स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समय पछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा व्यापक विरोध भएपछि नेताहरू पछि हट्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा पुगेका हुन् । गठबन्धनमा नेपाली काँग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद् लगायतले असहमति जनाएपछि खास गरी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र वैशाख या जेठ महिनाभित्र चुनाव गर्न सकारात्मक भएका हुन् ।
बैठकमा काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी छन् । स्रोतका अनुसार आजको बैठकले स्थानीय तहको मितिका बारेमा टुङ्गो लगाएर सरकारलाई तोक्न सुझाव दिने प्रबल सम्भावना छ । सत्ता गठबन्धनमा सहमति जुटेको खण्डमा सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर केही दिनभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।