रामेछापमा मतदाता नामावली संकलन स्थगित, कति पुगे मतदाता ?
२५ माघ, रामेछाप ।
सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आजबाट स्थगित गरेको छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न दिएको हो । आयोगले हालसम्मको विवरण पठाउन निर्देशन पनि कार्यालयहरुलाई भनेको छ । आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको बताए ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।
यसैबीच रामेछाप जिल्लामा पनि नयाँ मतदाता नामावली संकलनको काम स्थगित भएको छ । निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले केन्द्रको निर्देशन अनुसार नयाँ मतदाता संकलनको काम स्थगित भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा संकलित मतदाताहरुको नामावली अद्यवधी गर्ने काम भइरहेको छ । रामेछापमा पछिल्लो तथ्याङक अनुसार १ लाख ७६ हजार ३६४ जना मतदाता रहेको साहले जानकारी दिए ।