दोरम्बा शैलुङ्ग गाउँपालिकाले नौ वटा विद्यालयमा सुरु गर्यो नमूना कार्यक्रम
२६ माघ, रामेछाप ।
शैलुङ्ग दोरम्बा गाउँपालिकाले नौ वटा विद्यालयमा नमूना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिकाभित्र रहेका नौ वटा मावि विद्यालयमा विद्यार्थीको कृषि क्षेत्रमा अगाडि बढाउने र पठनपाठनमा आइपर्ने समस्या समाधान गर्न‘ एक विद्यालय एक उद्यम’ कार्यक्रम सञ्चालन गरेको हो ।
दोरम्बा गाउँपालिका विनियोजित ४५ लाख रुपैयाँबाट नौ वटा विद्यालयलाई पाँच÷पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ । उक्त बजेटबाट हरेक विद्यालयले आवश्यक पर्ने जग्गा लिजमा लिनुको साथै मल, विउविजन र कृषि औजार खरिद गर्नेछ । एक विद्यालय एक एक् उद्यम कार्यक्रम अन्तर्गत नौ वटा विद्यालयका कक्षा ९ देखि १२ कक्षाका विद्यार्थी अनिवार्य रुपमा उक्त उद्यममा सहभागी हुनेछन् ।
बुधवार दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवास्थित सुर्के माविबाट एक विद्यालय एक उद्यम कार्यक्रम उदघाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान र उपाध्यक्ष कृशला घिसिङले संयुक्त रुपमा किबी रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।गाउँपालिका अध्यक्ष कमानसिंह मोक्ताले विद्यार्थीलाई कृषि पेशाप्रति आकर्षण बढाउन र विद्यार्थीलाई आइपर्ने समस्या समाधान गर्न पनि कार्यक्रममा महत्वपूर्ण योगदन गर्ने बताए ।
यस कार्यक्रम सञ्चालन भएपछि कार्यक्रम सञ्चालन हुने विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ कक्षाका विद्यार्थीले अनिवार्य रुपमा कृषि क्षेत्रमा श्रम गर्नुपर्ने कार्यविधि गाउँपालिकाले बनाएको छ । सुरुमा पुँजी लगानी गरेपछि उद्यम कार्यक्रम सञ्चालनबाट प्राप्त आम्दानी विद्यालयले एउटा कोषको रुपमा सञ्चालन गर्नेछ । उक्त कोषबाट उद्यम सञ्चालन गर्न र विद्यार्थीलाई पठनपाठनको साथ पोशाक किन्न समस्या भएको अवस्थामा विद्यार्थीको पहिचान गरेर खर्च गर्नेछ ।
गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले गाउँपालिकाको ९ वटा माविमा एक विद्यालय एक उद्यम कार्यक्रम अगाडि बढाइएको बताइन । उनले हरेक वडाले आफ्नो भौगोलिक अवस्थिति अनुसारको उद्यम सञ्चालन गर्न सक्ने बताउदै विद्याथीलाई कृषिको बारेमा पढाउनुको साथै व्यवहारिक रुपमा पनि सिकाउने कार्यक्रम सुरु गरिएको बताइन । सुर्के माविले १५ बर्षको लागि ६ रोपनी भन्दा बढी जग्गा लिजमा लिएर किबी खेती सुरु गरेको छ । गाउँपालिकाले यस कार्यक्रम मार्फत विद्यार्थीहरुमा कृषि पेशाप्रति आकर्षण बढनुको साथै सिपको समेत विकास हुने लक्ष्य राखेको छ ।