प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, सत्ता पक्ष र प्रतिपक्ष दुवै तयारीमा



१ फागुन, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि पदबाट स्वतः निलम्बित भएका छन् । महाभियोगको प्रस्ताव दर्ता भएको पत्र बुझेर जबरा घरतिर लागेका छन् । नेपालको संविधान धारा १०१ को उपधारा (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने उल्लेख छ । आज बिहान ११ बजेर १० मिनेटमा संसदमा महाअभियोग दर्ता भएको भएको थियो । महाअभियोगको प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेकोसहित २१ वटा आरोप लगाइएको छ । सांसद देव गुरूङले प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नुपरेको बताएका छन् ।
प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएसँगै राजनीति तरंगित बनेको छ । सत्ता पक्ष र प्रतिपक्षले आगामी रणनीति बनाउन आ–आफ्नै तयारी अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्ष दलले महाअभियोग प्रस्ताव दर्ता भएपछि पार्टीको धारणा बनाउन साँझ सचिवालयको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्