दोरम्बा शैलुङ गाउँपालिकामा थामी समुदायको उत्थान गर्न कार्यक्रम सुरु



१७ फागुन, रामेछाप ।
अल्पसंख्यक थामी समुदाय समुदायको उत्थानका लागि संघीय सरकारको आर्थिक सहयोग र दोरम्बा शैलुङ गाउँपालिकाको समन्वयमा कार्यक्रम सुरु भएको छ । थामी समुदायको आर्थिक जीवनस्तर माथि उकास्नुको साथै थामी समुदायको पहिचान बचाउन सरकारले उत्थानको कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल थामी समाज र निको थामी सेवा समाजले कार्यन्वयन गर्ने गरी आज डडुवामा आयोजित एक कार्यक्रमकोबीच् गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले उक्त कार्यक्रम हस्तान्तरण गरेका छन् । उनले थामी समुदायको हक अधिकारको साथै आर्थिक जीवनस्तर माथि उकास्ने कार्यक्रम सञ्चालन हुनु खुसीको विषय भएको बताए । उनले भने,‘थामी समुदायको विकासको लागि गाउँपालिका प्रतिबद्ध भएर लागेको छ, आगामी दिनमा पनि गाउँपालिकाबाट कार्यक्रम सञ्चालन गरिनेछ ।’ सघीय सरकारबाट विनियोजित ५८लाख बजेटमा विभिन्न १२ शीर्षकमा थामी समुदायको उत्थानको कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले थामी समुदायको विकासका लागि यस कार्यक्रम निकै महत्वपूर्ण रहेको बताइन । उनले गाउँपालिको पहलमा संघीय सरकारले विशेष अनुदानको रुपमा कार्यक्रम आएको बताउदै कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।

गाउँपालिकाले यस कार्यक्रमबाट थामी समुदायको जीवन स्तरमा उकास्न ठूलो मद्दत पुग्ने विश्वास लिएको छ । थामी उत्थान कार्यक्रममा अन्तर्गत थामी जातिको कर्मकाण्ड लेखन कार्यक्रम, अल्लो धागो प्रशोधन मेसिन खरिद सहित तालिम,तीन महिने सिलाई कटाइ तालिम, थामी समुदायका बालबालिकाकालाई छात्रवृत्रि, भूमे पर्व मनाउने कार्यक्रम,थामी समाजको भवन निर्माण,थामी समुदायको भूमे मन्दिर निर्माण लगायत गरी १२ वटा कार्यक्रम सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्