आज मध्यरादेखि मौन अवधि सुरु हुने, के गर्न पाइन्छ के गर्न पाइदैन ?
२७ वैशाख, काठमाडौं ।
स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।
निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। आयोजले सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन भनेको छ । एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?
१.मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
२.निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
३. मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
४ एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
५.मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने