रामेछापमा सडक बन्द गराएर वडाअध्यक्षको छोरीको विवाह



२४ फागुन, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–३ का वडाअध्यक्ष कृष्ण गोपाल थापाले मुल सडक नै बन्द गराएर आफ्नो छोरीको विवाह गरेका छन् । आज बिहानबाटै सवारी साधन गुडने मुख्य सडक बन्द गराएर नै छोरीको विवाह गरेका हुन् । मन्थली बजारको बिनिता चोक नजिकै रहेको वडाअध्यक्ष थापाको घर अगाडिको सडक बन्द भएको थियो । सवारी आवतजावत गर्ने बाटो बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको ब्यानर मुल सडकमै टांगिएको थियो ।

वडाअध्यक्ष कृष्ण गोपाल थापाले आफूसँग कुनै विकल्प नै नभएकाले सडक बन्द गराएर छोरीको विवाह गरेको बताए । आँगन नै नभएपछि आगनको विकल्पमा सडकलाई आँगनको रुपमा प्रयोग गरेर विवाह गरिएको बताउदै उनले घर भन्दा तल दस मिटरबाट वैकल्पिक सडक रहेकाले बाटो बन्द गराएको बताए । सडक बन्न  नगरी विवाह गर्दा पनि हुन्थ्यो होला नि भन्ने रामेछाप न्युजको जिज्ञासामा वडाअध्यक्ष थापाले भने,‘मैले नजानेर सडक बन्द गराएको होइन, विकल्प नभएपछि बाँध्य भएर सडक बन्द गर्नु परेको हो ।’

सडकमा हिडडुल गर्न समस्या थिएन, गाडीलाई पनि अन्य सडकबाट जाने विकल्प थियो, छोरीको विवाह गर्नकै लागि सडक बन्द गराएको हो, उनले भने । वडाअध्यक्ष थापाकी छोरीको बिहे नसकुन्जेल बिनिता चोकको उकालो हुँदै जाने सवारी साधन कर कार्यालय अघिको सडक हुँदै आ–आफ्नो गन्तव्यमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्