खाँडादेवी गाउँपालिकामा सार्वजनिक सुनुवाईः ६ जनामाथि कारवाही गर्न जिप्रकालाई गाउँपालिकाको पत्र
३२ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकामा बुधवार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा अवरोध गर्ने गाउँपालिका वडा नम्बर ६ का ६ जनालाई कारवाही गर्न गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछापमा पत्राचार गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामेछाने पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा केही व्यक्तिले कानुन विपरीत अवरोध गरेको सम्बन्धमा समिक्षा गरी सिसीटिभी फुटेज र फेसबुक लाईभ फुटेजका आधारमा ६ जनासहित अन्य व्यक्तिहरु समेत संलग्न देखिएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइ दिन आग्रह गरेका छन् ।
पत्रसँगै गाउँपालिकाले कार्यपालिकाको निर्णयको प्रतिलिपि पनि जिल्ला प्रशासन कार्यालय रामेछापमा उपलब्ध गराएको छ । गाउँपालिकाले पत्राचार गरेपनि कस्तो कारवाही गर्ने भन्ने विषय उल्लेख गरेको छैन् ।
गाउँपालिकाले सौरभ केसी, सन्दिप कार्की, निर्मल केसी, सुजन केसी, बाबु केसी र सञ्जय बुढाथोकीमाथि कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ ।