एसईई नतिजाः रामेछापमा मन्थली मावि उत्कृष्ट, ढुंगेलले ल्याए ४ जीपीए



१३ असार, रामेछाप ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस बर्ष पनि देशकै नमूना माविको रुपमा पहिचान बनाएको मन्थली माविले रामेछाप जिल्लाबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सामुदायिक विद्याालयको रुपमा अब्बल बनाउदै मन्थली माविका सुबोध ढुंगेलले ४ जीपीए ल्याउन सफल भएका छन् ।
मन्थली माविबाट एसईई परीक्षामा १४५ जना विद्यार्थी सहभागी रहेका थिए । विद्यालयले ९४ प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।


मन्थली माविका सहायक प्रअ चन्द्रसिंह धामीले ४ जीपीए सहित विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले भने,‘हामीले गरेको मेहनतको परिणाम आएको छ, आगामी दिनमा अझै राम्रो नतिजा ल्याउने गरी पठनपाठनको कामलाई अघि बढाउँछौ ।’ सामुदायिक विद्यालयहरुमा आकर्षण र नतिजा खस्किदै गइरहेको अवस्थामा मन्थली माविले भने सामुदायिक विद्यालयको साख बढाउने काम गर्दै आइरहेको छ ।


मन्थली माविका प्रअ डा. टंक प्रसाद दाहालले सामुदायिक विद्यालयमा पनि मेहनत गर्दा राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पाउदा आफूहरु खुसी भएको बताए । उनले भने,‘शिक्षक, विद्यार्थी र अभिभावको समन्वयमा पठनपाठन गर्दा राम्रो नतिजा ल्याउन सकिन्छ, आगामी दिनमा अझै राम्रो नतिजा ल्याउने गरी काम गछौं ।’

प्रतिक्रिया दिनुहोस्