मन्थली बजारमा किन उप्कियो कालोपत्रे गरिएको सडक ?



१९ असार, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा दुई साता अघि गरिएको कालोपत्रे उप्किन थालेपछि नागरिकहरुले गुणस्तरमाथि प्रश्न उठाएका छन् । रामेछापको सदरमुकाम मन्थलीको व्यस्त मानिने देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उप्किन थालेपछि डिभिजन सडक कार्यालयले कामको गुणस्तर परीक्षण गराउन विज्ञ टोली मगाएको छ । देवकोटा चोकमा भित्ता काटेर सडक विस्तार गरेर त्यसमाथि कालोपत्रे गरिएको थियो । गोलन्जोर कन्स्ट्रक्सनले निर्माण गरेको सडकको गुणस्तरमाथि प्रश्न उठेपछि कार्यालयले निर्माण व्यवसायीलाई पुनः सो गुणस्तरीय ढंगले सम्पन्न गर्न निर्देशन दिएको छ ।


सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर प्रदिप तामाङले सडकमा गरिएको कालोपत्रेको गुणस्तरमा समस्या आएपछि विज्ञ टोली मगाएर परीक्षण गराउन लागिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘हामीले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न निर्देशन दिदै सुपरभिजनको काम पनि गर्दै आएका छौ, मन्थलीको देवकोटा चोक खण्डमा समस्या देखिएको छ, हामीले आवश्यक प्रक्रिया अघि बढाएका छौ, गुणस्तरीय काम नहुँदासम्म निर्माण व्यवसायीले भुक्तानी दिदैनौ । विस्तार गरिएको १७३ मिटर सडकमा प्रिमिक्स प्रविधि मार्फत सडक कालोपत्रे गरिएको छ । स्थानीयको माग र चाहना अनुसार नै विस्तार गरिएको सडकमा कालोपत्रे गरिएको हो, प्राविधिक समस्या आएको छ, तामाङले भने ।

प्रतिक्रिया दिनुहोस्