खुर्कोटमा बेलिबृज बन्यो, भोलि उदघाटन हुँदै



मधुसुदन रायमाझी

५ कात्तिक, रामपेछाप । रामेछाप– सिन्धुली जोड्ने सुनकोशी नदीमा असोज ११ र १२ गते आएको बाढीले बगाएको पुल नेपाली सेनाले पुनः निर्माण गरेको छ । काम सुरु गरेको १२ दिनभित्र नै नेपाली सेनाले आज बेलिब्रिज जडान गर्ने कार्य सम्पन्न गरेको हो । बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर भोलिबाट सवारी साधन सञ्चालनमा आउने सेनाले जनाएको छ । खरिद प्रक्रिया अनुसार अघि बढाउदा लामो समय लाग्ने भएको कारण बेलिबृज निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको सडक विभागका उप–महानिर्देशक एवं पुल महाशाखाका प्रमुख ललिजग खनालले रामेछाप न्युजलाई बताए ।

नेपाली सेनाले जडान गरेको बेलिबृज सडक विभागले उपलब्ध गराएको हो । नेपाली सेनाका छोटो अवधिमा नै पुल निर्माणको काम सम्पन्न गरेर राजधानी काठमाडौं र तराई जोडने बेलिबृज निर्माण गरेको हो । बेलिब्रिज जडान गर्ने कार्य सम्पन्न भएको निर्माणमा खटिएका १४ नम्बर वाहिनीका फिल्ड कमान्डर प्रमुख सेनानी नारायण तुम्वाहाम्फेले बताए । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने १० वर्षअघि बनेको सुनकोशी नदीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो । हाल सो ठाउँमा बेलिबृज जडान गरिएको हो ।

खुर्कोटको बेलिबृज निर्माण गर्ने कार्यको लागि ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छाराम स्वंम सामान ल्याउने र पुल जडानको कार्यमा खटिएका थिए । तामाङले छोटो समयमै खुर्कोटमा बेलिबृज निर्माण गरेर रामेछाप दोलखा र ओखढुंगा जिल्लाका नागरिकरुलाई सहज बनाउने कार्य भएको रामेछाप न्युजलाई बताए । बेलिबृजको भोलि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्