मन्थली अस्पताल बनेपछि रामेछापवासीमा छायो खुसी
रामेछाप ९ माघ । रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा १५ शैष्याको अत्याधुनिक अस्पताल भवन निर्माण सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको सघन शहरी तथा भवन निर्माण आयोजना रामेछाप मार्फत सो अस्पताल निर्माण भएको हो । नवनिर्मित अस्पताल भवन आयोजनाले मन्थली नगरपालिकालाई आज एक कार्यक्रमकोबीच हस्तान्तरण गरेको छ । भारत सरकारको करिब साढे १० करोड लगानीमा यस अस्पताल निर्माण गरिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुख सुमन सालिकेले पुरानो अस्पताल भवनबाट सेवा प्रवाह गर्न कठिन भइरहेको अवस्थामा सेवा सुविधा सहज बनाउने उद्देश्यले नवनिर्मित भवन मन्थली नगरपालिकिालाई हस्तान्तरण गरिएको रामेछाप न्युजलाई बताए । आज एक कार्यक्रमकोबीच आयोजनाले मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामीको सहभागीतमा औपचारिक रुपमा साँचो हस्तान्तरण गरेको छ ।
मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामीले नयाँ भवनबाट अब सेवा प्रवाह गर्न सहज हुने बताए । नयाँ भवन बनेसँगै रामेछापवासीमा खुसी छाएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नयाँ भवन निर्माण भएसँगै अन्य सेवा सुविधा विस्तार गर्न अब सहज हुने विश्वास व्यक्त गरे । नगरपालिकाले मन्थली अस्पताललाई प्रदेश अस्पतालको रूपमा विस्तार र विकास गर्ने योजनालाई अघि बढाउदै आएको छ । प्रादेशिक अस्पताल बनेसँगै मन्थली अस्पतालमा अन्य सेवा सुविधा थप विस्तार हुनेछ । मन्थली अस्पतालमा रामेछाप जिल्लाको साथै छिमेकी जिल्ला दोलखा, ओखलढुंगा लगायतका नागरिकहरुले पनि सेवा लिदै आएका छन् ।